काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको घोराही सिमेन्टले पनि बक्यौताको पहिलो किस्ता तिरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कम्पनीले पहिलो किस्तास्वरुप १ करोड ८१ लाख रुपैयाँ बुझाएको हो। यो सँगै प्राधिकरणले काटेको लाइन पनि जोडिदिएको छ।
वर्षौँदेखि प्राधिकरण र उद्योगीबीच बक्यौता विवाद छ। पछिल्लो समय जसरी पनि बक्यौता उठाउने प्राधिकरणको अडान, सर्वोच्चले अन्तरिम आदेश समेत नदिएको कारण उद्योगीहरुले बक्यौता तिर्न थालेका हुन्।
ठूलो परिमाणमा बक्यौता तिर्नुपर्ने भएपछि प्राधिकरणले उद्योगीलाई २८ किस्तामा तिर्न सकिने सुविधा दिएको छ।
यसअघि दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले पनि पहिलो किस्ता तिरेको थियो ।
उद्योगहरूले माघ २०७२ देखिवैशाख २०७५ सम्मको अवधिमा डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल बुझाउन बाँकी रहेको प्राधिकरणको दाबी छ ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद समाधानतर्फ गएको छ । उद्योगीहरु बक्यौताको पहिलो किस्ता तिर्न तयार भएपछि विवाद समाधानतर्फ गएको हो ।

