बिर्तामोड । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताएका छन् । उनले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताए । आज विहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको मुद्धालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए । कानुनी, व्यवहारिक र आवश्यकताका हिसावले संसद पुर्नस्थापना हुने सभामुख घिमिरेको भनाई छ ।
छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएका छन् । जननिर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको घिमिरेको भनाई छ । सभामुख घिमिरेले भने – संसद पुर्नस्थापना गरेर अहिलेका समस्याहरु सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ । जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि हो ।
संविधानका के कस्ता विषयहरु संशोधन गर्नुपर्ने हो, छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उहाँको सूझाव छ । वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताउँदै उनले सरकार नै असंवैधानिक भएको स्पष्ट बनाए । बिहीवार दिउँसो झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरुको अनुगमन गरेका छन् ।
गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गरेका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरु अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिए ।
दुई दिनका लागि झापा आएका सभामुख घिमिरेले भोली बिर्तामोडस्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यहि बीचमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न जाने मैनालीले जानकारी दिएका छन् ।


