इपीएस अन्तर्गत ६७ हजारको मंसिरदेखि भाषा परीक्षा

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत मंसिर १ बाट उत्पादनमूलक क्षेत्रमा ६७ हजारको परीक्षा सुरु गरिने भएको छ । रोष्टरमा रहेका युवाले पहिला आफूहरूलाई कोरिया लैजानु पर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा २ महिना भित्र सक्ने गरी मंसिरदेखि सुरु गर्न लागिएको हो ।

हाल रोष्टरमा उत्पादनमूलक क्षेत्रका युवा कम हुँदै गएको र तत्काल परीक्षा नगरे रोष्टर खाली भएर नेपालको कोटा अन्य देशमा जाने सम्भावना रहेको जनाउँदै जसरी पनि भाषा परीक्षा गर्नु पर्ने अवस्था आएको वैदेशिक रोजगार विभागका एक अधिकारीले बताए । भाषा परीक्षाको सूचना कोरिया र नेपालले एकै पटक सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

भाषा परीक्षामा १ लाख २ हजार ५१५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनमूलक क्षेत्रका ६७ हजारलाई प्राथमिकतामा राख्ने विभागको भनाइ छ । यसबारे आइतबार थप छलफल गरी निर्णय गरिने भएको हो । उत्पादनमूलक क्षेत्रको परीक्षालाई पहिलो चरणमा र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि अर्को मिति तय गरिने तयारी भइरहेको छ । कृषि तथा पशुपालन क्षेत्रमा परीक्षाथीको संख्या ३५ हजार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार