राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुनसक्दैन : डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर भए अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् । उनले सरकारसँग पैसा नभएको गुनासो गरिए पनि भएको स्रोतसमेत प्रभावकारी रूपमा उपयोग हुन नसकेको स्थिति राम्रो नभएको औंल्याएका छन् ।

निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाइए पनि लगानी आकर्षित हुन नसकेको चिन्ताजनक रहेको उनको भनाइ छ । ब्याजदर एक अंकमा झरिसके पनि अझै बढी भएको गुनासो आउने गरेको उल्लेख गर्दै उनले नेपालको अर्थमोडल रेमिट्यान्समा निर्भर भए पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको बताए ।

अर्थतन्त्रको अवस्थाबारे छलफलमा बोल्दै उनले भने, “सरकारसँग पैसा छैन भनिन्छ, तर भएको पैसा पनि खर्च हुँदैन । पैसा नपुग्ने भए कटौती गर्नुपर्छ, तर जति छ त्यो पनि उपयोग हुँदैन । निजी क्षेत्रलाई प्रोत्साहन दिन ब्याजदर घटाउनु मुख्य कुरा हो । विश्वमा ब्याजदरको सामान्य उतारचढावले पनि निजी लगानीमा ठूलो असर पर्छ । हाम्रोमा एक अंकमा झरिसक्दा पनि बढी भएको गुनासो छ । स्रोत छ पनि छैन पनि । यो एकैदिन आएको होइन । रेमिट्यान्समा आधारित अर्थमोडल भए पनि हामीले निर्यात वा उत्पादनमा लगाउन सकेनौं । अहिलेको अवस्थामा पुग्यौं । सरकारको स्रोत कसरी उपयोग गर्ने भन्ने चुनौती छ । नेपाल कस्तो तरलता जाल (लिक्विडिटी ट्रयाप) मा पर्‍यो ? जति ब्याज घटाए पनि लगानीकर्ता आउँदैनन् ? यो वातावरण राजनीतिले बनाउने हो । राजनीतिक तह कमजोर भए अर्थतन्त्र एक्लैले काम गर्दैन ।”

डा. लोहनीले वर्तमान परिस्थिति कमजोर हुनु नै सङ्कटको संकेत भएको जिकिर गरे । नेपाल राष्ट्र बैंकमा नेपाली जनताको उच्च विश्वास रहेको र यो संस्था अझै धेरै राजनीतिकरण नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार