काठमाडौं । लघुवित्त संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा सचीकृत ४९ लघुवित्तहरुले समग्रमा २ अर्ब १ करोड रुपैयाँ भन्दा धेरैको नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २४४.५५ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ५८ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
संस्थाहरुको खुद ब्याज आम्दानी पनि २२.४३ प्रतिशतले बढेर ८ अर्ब ४२ करोड पुगेको छ । गत वर्ष उक्त आम्दानी ६ अर्ब ८८९ करोड थियो । खुद ब्याज आम्दानीमा आएको वृद्धि र केही संस्थाहरुको इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो । तथ्यांक अनुसार, ४९ लघुवित्त संस्थाहरुको चुक्ता पुँजी समग्रमा ३७ अर्ब ७० करोड ९१ लाख रुपैयाँ छ । त्यस्तै, जगेडा कोषमा ३१ अर्ब ६६ करोड जम्मा रहेको छ ।
चुक्ता पुँजी र जगेडा कोष कसको कति ?
सूचीकृत ४९ लघुवित्त संस्थाहरुमध्ये साना किसान विकास लघुवित्तको चुक्ता पुँजी सबैभन्दा धेरै ४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, छिमेक लघुवित्तको ३ अर्ब २१ करोड, निर्धन उत्थानको २ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पुँजी छ ।
यता, जगेडा कोषपनि साना किसानको धेरै छ । यसको उक्त कोषमा ४ अर्ब २० करोड जम्मा रहेको छ । त्यस्तै, छिमेकको ३ अर्ब १ करोड, निर्धन उत्थानको २ अर्ब ४० करोड रुपैयाँ बराबरको रकम जगेडा कोषमा जम्मा छ ।

खुद ब्याज आम्दानी कसको कति ?
छिमेक लघुवित्तको खुद ब्याज आम्दानी ७५ करोड ५१ लाख रुपैयाँ रहेको छ । जीवन विकासको ५५ करोड ७३ लाख, स्वावलम्बनको ५४ करोड १२ लाख, डिप्रोक्सको ५३ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । समग्रमा लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानी ८ अर्ब ४२ करोड छ ।

नाफा कसको कति ?
३ महिनामा छिमेक लघुवित्तले सबैभन्दा धेरै २६ करोड ९० लाख नाफा कमाएको छ । साना किसानले २२ करोड ८४ लाख र डिप्रोक्सले २० करोड २२ लाख नाफा आर्जन गरेको छ । ४९ कम्पनीहरुले ३ महिनामा २ अर्ब १ करोड नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी कसको कति ?
मिथिला लघुवित्तको प्रतिसेयर आम्दानी ६०.०९ रुपैयाँ छ । त्यस्तै, सपोर्टको ५२.९२ रुपैयाँ, युनिक नेपालको ५०.०७ र गुराँसको ५०.०३ रुपैयाँ प्रतिसेयर आम्दानी छ । लघिवत्त संस्थाहरुको औसत प्रतिसेयर आम्दानी १८.९८ रुपैयाँ छ ।


