नेपालले फिच रेटिङ्सबाट फेरि पायो ‘बीबी माइनस’ रेटिङ

काठमाडौं । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्स बाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ  ‘बीबी– (माइनस) ‘ कायम राख्न सफल भएको छ। गत वर्षको मूल्यांकनमा पनि नेपालले यही रेटिङ प्राप्त गरेको थियो।  पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताका बीच पनि रेटिङ स्थिर रहनु नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमताप्रतिको अन्तर्राष्ट्रिय विश्वास पुनः पुष्टि भएको रूपमा लिइएको छ। यसले नेपालको समष्टिगत आर्थिक आधार स्थिर र तुलनात्मक रूपमा बलियो रहेको संकेत गरेको छ।

चुनाव–केन्द्रित खर्च बढ्ने सम्भावना र राजनीतिक अनिश्चितता हुँदाहुँदै पनि सरकारले कायम राखेको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, खर्चको उचित प्राथमिकता, समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता तथा रणनीतिक परियोजनाहरूलाई अवरोधविना निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको भरोसा अझ मजबुत बनाएको देखिन्छ। प्राप्त रेटिङले मुलुकभित्र आर्थिक संरचना स्थिर हुँदै गएको स्पष्ट सन्देश दिएको छ।

यो रेटिङ भविष्यमा नेपालमा वैदेशिक लगानी आकर्षित गर्न, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य थप मजबुत बनाउन तथा नेपालले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सार्वभौम ऋण (Sovereign Bonds) जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न सहयोगी हुने अपेक्षा गरिएको छ। ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रजस्ता दीर्घकालीन लगानीका क्षेत्रहरूमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ।

यस अवसरमा अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय विकास साझेदार, वैदेशिक लगानीकर्ता, निजी क्षेत्र तथा आम नागरिकले देखाएको निरन्तर विश्वास र सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ। साथै सरकारले आगामी दिनमा आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमुखी लगानी, रोजगारी सिर्जना र सामाजिक–आर्थिक रुपान्तरणका लक्ष्यप्रति दृढ प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार