काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले वित्तीय प्रणालीमा पैसा थुप्रिनु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले लिएको सुझाव सम्बन्धी कर प्रणाली सुधार केन्द्रित आर्थिक रूपान्तरणको मार्गचित्र सम्बन्धी आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष पाण्डेले भने, ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ । बैंकहरुमा लगानी योग्य रकम छ । ब्याज दर एकल विन्दुमा छ । समग्र बजार माग बढ्न सकेको छैन। मागमा वृद्धि आउन नसक्दा पनि उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । मूल्य वृद्धि न्यून विन्दुमा छ । पैसा बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो संकेत होइन ।’
उनले वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको असर सरकारको राजश्वमा समेत परेको बताए । जबसम्म लगानी बढाउन सकिँदैन तबसम्म सुधारका कदम चाल्न गाह्रो रहेको उनले दाबी गरे ।
लगानी अभिवृद्धि गराउन कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउदै उनले यसलाई आयोगले दिएको सुझाव र कार्य योजनाले समेत दिएको महत्वले यसलाई पुष्टि गरेको छ । त्यसैले यथाशक्य चाँडो कर प्रणालीमा सुधार गर्न आवश्यक छ ।
‘लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुन्छ । स्वदेशी लगानीकर्ताले मात्रै होइन विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिहरूको स्थायित्व हेरेर मात्रै लगानी गर्ने गरेका हुन्छन् । लगानीकर्ताको लगानीको आधार समेत कर सम्बन्धी नीति पनि हुने भएको हुँदा यसलाई गहन रूपमा ध्यान दिन अनुरोध गर्छु’, उनले भने ।
कर्जा प्रवाह बढ्न नसके पछि ११ खर्ब ७३ अर्ब लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ । बिहीबारसम्म ११ खर्ब ७३ अर्ब लगानीयोग्य रकम बैंकमा थुप्रिएको राष्ट्र बैंकले जनाएको छ ।

