काठमाडौं । सञ्चालनमा रहेका लघुबिमा कम्पनीहरुले २ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २८२ प्रतिशत धेरै हो । गत वर्षको असोजमा कम्पनीहरुले समग्रमा ७० लाख ७० हजार रुपैयाँ नाफा कमाएका थिए । बिमा शुल्क संकलन १६७ प्रतिशतले बढेर ३८ करोड ९७ लाख पुगेको छ ।
गत वर्षको असोजमा कम्पनीहरुले १४ करोड ५७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए । चुक्ता पुँजी ४ अर्ब ३५ करोड रहेको लघु बिमा कम्पनीहरुको रिटेन्ड अर्निङमा १२ करोड ७४ लाख जम्मा छ । बिमा शुल्क संकलन र कर्जा तथा लगानीबाट हुने आम्दानी बढेसँगै नाफा सुधार आएको देखिन्छ ।
चुक्ता पुँजी र रिटेन्ड अर्निङ
सञ्चालनमा रहेका ३ लघु जीवन बिमा कम्पनीहुको चुक्ता पुँजी २ अर्ब २ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ६ करोड ८६ लाख जम्मा छ । क्रेष्ट र गार्डियन माइक्रो लाइफको चुक्ता पुँजी ७५ करोड छ भने लिबर्टीको ५२ करोड ५० लाख रुपैयाँ छ । रिटेन्ड अर्निङमा क्रेष्टको ३ करोड ९८ लाख, गार्डियनको २ करोड २१ लाख रुपैयाँ छ ।
यता, लघु निर्जीवन बिमाहरुको चुक्ता पुँजी समग्रमा २ अर्ब ३२ करोड छ भने रिटेन्ड अर्निङमा ५ करोड ८७ लाख रहेको छ । जसमध्ये नेपाल माइक्रो इन्सुरेन्सको चुक्ता पुँजी ७५ करोड छ ।
बिमा शुल्क संकलन
लघु जीवन बिमा कम्पनीहरुले ३ महिनामा समग्रमा ३० करोड ६१ लाख बिमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको भन्दा १७२.२३ प्रतिशत धेरै हो । गत वर्षको असोजमा कम्पनीहरुले ११ करोड २४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए । त्यस्तै, लघु निर्जीवन बिमा कम्पनीहरुले असोजसम्म ८ करोड ३५ लाख बिमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको भन्दा १५० प्रतिशत धेरै हो ।
नाफा
लघु बिमा कम्पनीहरुले असोजसम्म २ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको भन्दा २८२ प्रतिशत धेरै हो । जसमध्ये लघु जीवन बिमाहरुले १ करोड ४८ लाख र निर्जीवन बिमाहरुले १ करोड २१ लाख नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी
लघु बिमा कम्पनीहरुमध्ये नेपाल माइक्रो इन्सुरेन्सको प्रतिसेयर आम्दानी ४.३८ रुपैयाँ रहेको छ । औसतमा लघु जीवन बिमा कम्पनीहरुको प्रतिसेयर आम्दानी २.८० रुपैयाँ र लघु निर्जीवन बिमा कम्पनीहरुको इपीएस १.६० रुपैयाँ छ ।


