काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन्। आज दिउँसो २:३० बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।
सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने बैठकले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ। एकीकृत निर्वाचन सुरक्षा योजना-०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ।
एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधवार जेनजी युवाहरूले तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।
सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष, रक्षा मन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षामन्त्रालयका सचिव सदस्य सचिव रहनेछन्।
तर प्रधानमन्त्री कार्कीले रक्षा, परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि आफैँ सम्हालिरहेकी छन्। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल सहभागी हुनेछन्।

