काठमाडौं । बाजुराको हिमाली गाउँपालिका-६ स्थित प्रसूति केन्द्र भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार स्वास्थ्य कार्यालय, बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगले शिक्षा विकास तथा समन्वय इकाई, बाजुराका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई पनि प्रतिवादी बनाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख रूपैयाँ र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ व्यहोर्ने गरी कन्टेन्जेन्सीसहित २६ लाख १५ हजार २०६ रूपैयाँमा निर्माण उपभोक्ता समितिसँग सम्झौता आयोगले जनाएको छ ।
तर, लागत अनुमानमा उल्लिखित मापदण्ड बमोजिम निर्माण कार्य नगरी प्रयोगमा ल्याउन नसक्ने प्रकृतिको तयार गरेको आयोगले जनाएको छ ।
उक्त प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमान बमोजिम नै गरे गराएको भनी झुट्टा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई १५ लाख ८ हजार ५५७ रूपैयाँ भुक्तानी लिए दिएको देखिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
सोही कारणबाट उक्त संरचना प्रयोगविहीन भई हाल भग्नावशेषमा परिणत भई १५ लाख ८ हजार ५५७ रूपैयाँ बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग गरेको तथ्य स्थापित भएकोले आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले बताए ।

