काठमाडौं । चालु आवको पहिलो त्रैमाससम्म होटल्स तथा पर्टयन समूहका कम्पनीहरुले ११ लाख ८० हजार रुपैयाँ खुद घाटा व्यहोरा छन् । गत वर्षको असोजसम्म यी कम्पनीहरुले १२ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
जेनजी आन्दोलनका कारण होटल तथा केबलकार कम्पनीको आम्दानीमा असर परेको छ । केही होटलहरुको संरचनामा क्षति पुगेको छ । यता, केबलकारहरुमा पनि क्षति पुगेको छ । त्यसैले होटल तथा पर्यटन समूहका कम्पनीहरुको आम्दानीमा असर परेको हो ।
३ महिनामा ६ वटा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेका छन् । चुक्ता पुँजी समग्रमा ७ अर्ब ९७ करोड रुपैयाँ रहेको होटल्स तथा पर्यटन कम्पनीहरुको जगेडा कोषमा ५ अर्ब ४२ करोड रुपैयाँ जम्मा छ ।
चुक्ता पुँजी र जगेडा कोष कसको कति ?
तारागाउँ रिजेन्सी होटलको चुक्ता पुँजी सबैभन्दा धेरै १ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ । त्यस्तै, सिटीको १ अब ६७ करोड ४० लाख, चन्द्रागिरी हिल्सको १ अर्ब ५३ करोड रुपैयाँ बराबरको पुँजी रहेको छ । समग्रमा होटल्स तथा पर्यटन समूहका कम्पनीहरुको चुक्ता पुँजी ७ अर्ब ९७ करोड ६५ लाख रहेको छ ।
यता, जगेडा कोष भने ओरियन्टल होटल्सको धेरै छ । यसको उक्त कोषमा २ अर्ब ७० करोड रकम जम्मा छ । त्यस्तै, सोल्टीको १ अर्ब ८७ करोड र तारागाउँको १ अर्ब १२ करोड रुपैयाँ जगेडामा जम्मा छ । समग्रमा होटल्स तथा पर्यटन कम्पनीहरुको जगेडामा ५ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ जम्मा छ । सिटी होटलको जगेडा कोष ऋणात्मक छ ।

सञ्चालन आम्दानी
सोल्टी होटेलले ३ महिनामा ६२ करोड ७९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशत धेरै हो । ओरियन्टलको २१ करोड ९७ लाख, तारागाउँको १७ करोड १० लाख आम्दानी छ । समग्रमा कम्पनीहरुले १ अर्ब २३ करोड आम्दानी गरेका छन् ।

नाफा
होटल तथा पर्यटन समूहका कम्पनीले ३ महिनामा ११ लाख ८० हजार खुद घाटा व्यहोरेका छन् । गत वर्ष कम्पनीहरुले १२ करोड ५३ लाख नाफा कमाएका थिए । रिपोर्ट सार्वजनि गर्ने ५ वटा कम्पनी घाटामा छन् । सोल्टी होटलले भने १२ करोड ३५ लाख नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी
सोल्टी होटलको प्रतिसेयर आम्दानी १.२१ रुपैयाँ छ । अरु कम्पनीहरुको नाफासँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक देखिएको छ ।


