काठमाडौं । हेटौँडा बजार क्षेत्रको सडक सीमा खाली गराउन १५ दिनको समयसिमा तोकिएको छ । बिहीबार हेटौँडामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, हेटौँडाकी मेयर मिनाकुमारी लामा, मकवानपुरका सीडीओ वसन्त अधिकारी, वडाध्यसहितको बैठकमा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडि बढाउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमानको सचिवालयले जनाएको छ ।
सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सीमा खाली गराउन पटकपटक ताकेता गरिएको स्मरण गराउँदै अवैध संरचना हटाउन सूचना आव्हान गरेको हो । सडकको दायाँबायाँ २५-२५ मिटरमा रहेका व्यक्ति तथा व्यवसायिक गतिविधिका ती संरचना नहटाए डिभिजन कार्यालयले हटाउने र त्यसको लागत सम्बन्धितले व्यहोर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख छ । यसअघिपनि महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको अतिक्रमित सीमा खाली गराउन सुचना जारि हुने गरेको थियो ,
यसअघि सर्वोच्च अदालतले पनि हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँबायाँ क्षतिपूर्ति नपाउने फैसला गरिसकेको साथै अतिक्रमण हटाउन प्रकाशित सूचनाविरुद्ध परेका रिट खारेज भएकाले त्यस्ता संरचना स्थायी/अस्थायी घरटहरालगायत अन्य संरचना हटाउन सडक डिभिजनले आग्रह गरेको छ ।

