४ महिनामा ४० करोडको फलफूल आयात

झापा। पूर्वीनाका काँकरभिट्टाबाट ४  महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ४ महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।

अघिल्लो आर्थिक २०८१\८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८९ लाख ५ हजार बढीको फलफूल आयात भएको छ ।

नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ । काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ । चालु आव २०८२\८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए ।

उनका अनुसार कात्तिकमा भन्सारले राजस्व सङ्कलनको लक्ष्य रु १ अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो । तर सो अवधिमा रु १ अर्ब ३० करोड ८१ लाख ८९ हजार सङ्कलन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार