७८ प्रतिशतले बढ्यो निर्यात व्यापार, व्यापार घाटा भने उस्तै

काठमाडौं । भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुरूप निर्यात व्यापार ७८ प्रतिशतले बढेको हो ।

चालू आवको चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाखबराबरको निर्यात भएको हो । अघिल्लो आवको सोही अवधिमा निर्यात ५२ अर्ब ६७ करोड सात लाखबराबरको थियो ।

विभागको तथ्यांक हेर्दा निर्यात व्यापारमा पनि आयातित कच्चापदार्थमा निर्भर रहेको पाइन्छ । भटमास, सूर्यमुखी दाना, फलफूललगायतका सामग्री आयतित रहेको पाइन्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै रकमको भटमासको तेल, अलेंची, गलैँचा र सूर्यमूखी तेललगायतका सामग्री निर्यात भएको छ । चार महिनाको अवधिमा भटमासको तेल ३८ अर्ब ४३ करोड तीन लाख, अलैंची तीन अर्ब ९७ करोड ४३ लाख, गलैँचा तीन अर्ब २६ करोड ४० लाख र सूर्यमूखी तेल दुई अर्ब ७३ करोड २८ लाखबराबरको निर्यात गरिएको छ ।

सोही अवधिमा जुटजन्य सामग्री दुई अर्ब १५ करोड २४ लाख, पाम तेल दुई अर्ब छ करोड ५० लाख, यार्न एक अर्ब ७६ करोड ३६ लाख र जुस एक अर्ब ५४ करोड ९० लाखबराबरको निर्यात गरिएको छ । पस्मिनाको सल एक अर्ब ४१ करोड ३३ लाख, चिया एक अर्ब ३८ करोड ३४ लाख र कुकुर र बिरालोको आहारा एक अर्ब तीन करोड ५७ लाखबराबरको निर्यात गरिएको छ ।

निर्यात बढ्दो क्रममा रहे पनि चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो चार महिना भन्दा नेपालको व्यापार घाटा ११.९९ प्रतिशतले बढेको थियो।

चालु आर्थिक वर्ष पहिलो चार महिनाको अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष (२०८१-८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो।

विभागका अनुसार कात्तिक महिनासम्म नेपालले ६ खर्ब ९ अर्ब ४५ करोडको बस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष ५१ अर्ब ३३ अर्ब ८८ करोड रुपैयाँ थियो । नेपालको आयात व्यापार गत आवको भन्दा १८.७१ प्रतिशतले बढेको छ। आयात र निर्यातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार पनि २४.१८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष आयात निर्यात अनुपात ९.७५ गुणा रहेकोमा चालु आवमा यो घटेर ६.५२ गुणा पुगेको छ।

निर्यातमा ठूलो सुधार भए तापनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा भने बढेको छ । विभागका अनुसार चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा मुलुकको व्यापार घाटा ७१ लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

४ महिनामा ९२ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थक वर्षको ४ महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो । कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ ।

४ महिनामा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेल तथा घ्युजन्य वस्तु रहेका छन् । ५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु आयात भएको छ ।

२१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु, १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँको खाद्यान्न, २२ अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार