काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले भारतबाट उच्च दरमा विद्युत खरिद गरी मुलुकलाई अर्बको फाइदा पुराइएको बताएका छन् । उनले संसदीय समितिमा उक्त दाबी गरेका हुन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमबार बोल्दै मन्त्री घिसिङले विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट भारतीय २१ पैसा उच्च दरमा विद्युत खरिद गरी पनि देशलाई लगभग ३ अर्ब रुपैयाँको लाभ प्रदान गरेको दाबी गरेका हुन्।
उनले पीटीसी इन्डियाले मागेको दरभन्दा कम दरमा बिजुली खरिद गर्न सफल भएको बताए । साथै, बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज र चुहावट शुल्क नघटाएर अतिरिक्त खर्चबाट समेत जोगिएको उनको भनाई छ । विद्युत प्राधिकरणले पीटीसी इन्डियासँग प्रतियुनिट ६.९५ भारु दरमा विद्युत खरिद सम्झौता गरेको सन्दर्भ गर्दै मन्त्री घिसिङले भने,‘हामीले सुख्खा सिजनमा बिजुली सुरक्षित गरेका छौं ।’
उनले भविष्यमा अर्थात् सुख्खा समयमा बिजुलीको दर आजका तुलनामा अझै महँगो हुने सम्भावना रहेकोमा वर्तमानमा नै उच्च दरमा सम्झौता गरेर प्राधिकरणको कोष सुरक्षित गरेको बताए । ‘डार्क सिजनमा अस्ट्रेलिया वा दक्षिण(पूर्व एशियाबाट बिजुली किनेपछि परिवहन लागत र अन्य खर्च जोडिएर दर अझै मूल्य बढ्ने सम्भावना छ। यसरी हामीले राज्यको हितमा आगामी वर्षहरुका लागि सुरक्षा गरेका छौं,’ मन्त्री घिसिङले भने।
उनले प्रतियुनिट ६.७४ भारु दरमा विद्युत खरिदको सम्झौता नगरेको दाबी गर्दै तत्कालीन प्रबन्ध निर्देशक र बोर्डको सदस्यहरूलाई कारबाही गर्नु पर्ने बताए । ‘ तत्कालीन निर्णय लिने अधिकारीहरूले ६.७४ रुपैयाँमा बिजुली किन्न सकेको अवसरलाई गुमाएर मुलुकलाई नोक्सानी गर्ने काम गरेका छन् । मुलुकलाई नोक्सानीमा लैजानेहरुले आफनो कामको विरोध गर्दै प्रचार गरेको उनको भनाई छ ।
वर्तमान सरकारले सही समयमा सही निर्णय लिएको बताउँदै उनले राज्यको पक्षमा रहेर निर्णय गर्ने दाबी गरे ।
विद्युत प्राधिकरणले पीटीसी इन्डियासँग प्रतियुनिट ६.७४ भारुमा बिजुली खरिद सम्झौता गरेको थियो। तर एक महिना पछि एकैछिन ६.९५ भारुमा उच्च दरमा सम्झौता गरिएको छ। यस सम्झौताले देशको करिब ४३ करोड रुपैयाँ नाेक्सान गराएको आरोप विभिन्न पक्षहरूले लगाएका छन्।

