CLI

धितोपत्रमा वाणिज्य बैंकहरूको १५ खर्ब बढी लगानी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी १५ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ पुगेको देखिएको छ । उनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असारको तुलनामा असोज मसान्तमा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी ६ दशमलव ३६ प्रतिशतले बढेको छ ।

गत असार मसान्तको वित्तीय विवरणअनुसार धितोपत्रमा २० ओटा वाणिज्य बैंकको लगानी रकम १४ खर्ब ४७ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी थियो । धितोपत्र लगानीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) अग्रस्थानमा रहेको छ। चालू आवको पहिलो त्रैमाससम्ममा आरबीबीले धितोपत्रमा १ खर्ब ७१ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ, जुन असार मसान्तको तुलनामा १५.७९ प्रतिशत वृद्धि हो। गत असार मसान्तमा सो बैंकको लगानी १ खर्ब ४८ अर्ब ९ करोड रुपैयाँ थियो।

धितोपत्र लगानीमा सबैभन्दा कम रकम स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको रहेको छ। चालू आवको पहिलो त्रैमाससम्ममा यस बैंकले १२ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ९.७४ प्रतिशतले घटेको हो। गत असार मसान्तमा सो बैंकको लगानी १३ अर्ब ५७ करोड रुपैयाँ थियो।एन.आई.सी. एशिया, एनएमबि, सिद्धार्थ र सिटिजन्स बैंकले पनि पछिल्लो ३ महीनामा धितोपत्रमा भएको लगानी घटाएका छन् । असार मसान्तको तुलनामा असोज मसान्तमा एन.आई.सी. एशियाको ४ दशमलव ७२, एनएमबिको ३ दशमलव ८४, सिद्धार्थको २ दशमलव ९९ प्रतिशत र सिटिजन्स बैंकको १ दशमलव ६८ प्रतिशतले धितोपत्रमा लगानी घटेको तथ्यांकले देखाउँछ । लक्ष्मी सन्राइज र हिमालयन बैंकको पनि धितोपत्रमा लगानी थोरै घटेको छ ।

पहिलो त्रैमाससम्ममा धितोपत्रमा लगानी बढाउनेमा कुमारी बैंक सबैभन्दा अगाडि छ । यसले गत असार मसान्तको तुलनामा असोज मसान्तमा धितोपत्रमा लगानी १९ दशमलव ९९ प्रतिशतले बढाएको छ ।

 

Leave Your Comment

Related News