वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२\८३ को ४ महिनामा रु २ खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ ।
गत आवको ४ महिनाको अवधिमा रु २ खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै १८ प्रतिशत वृद्धि भएको जानकारी दिए । “गत आवको ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ,” उनले भने ।
कार्यालयका अनुसार गत आवको ४ महिनामा कार्यालयले रु ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको थियो । तर, चालु आवको ४ महिनामा भने रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज नाका हुँदै ४ महिनामा रु ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
त्यस्तै सोही अवधिमा रु २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ । रु १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन् । वीरगञ्ज नाका हुँदै ४ महिनामा रु १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, रु १६ अर्ब चारको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा रु १५ अर्ब ४३ करोडको मलखाद आयात भएको छ ।

