काठमाडौं । सूचीकृत सिमेन्ट कम्पनीहरुले चालु आर्थिक वर्षको ३ महिनामा ४४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् । ४ वटा कम्पनीले समग्रमा करिब ४५ करोड नाफा आर्जन गरेका हुन् । शिवम् सिमेन्ट्स, सर्वोत्तम र सोनापुरको खुद नाफा धनात्मक छ । यता, घोराहीले भने १२ करोड ८० लाख घाटा व्यहोरेको छ ।
रिपोर्ट अनुसार शिवम् सिमेन्ट्सले ३ महिनामा २० करोड ९६ लाख, सर्वोत्तमले ३२ करोड ४२ लाख र सोनापुरले भने ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, कम्पनीहरुले समग्रमा ५ अर्ब ८ करोड रुपैयाँ बराबरको सिमेन्ट बिक्रीबाट आम्दानी गरेका छन् । शिवम् सिमेन्टले १ अर्ब ५३ करोड, सर्वोत्तमले १ अर्ब ९७ करोड, घोराहीले ९० करोड ६० लाख, सोनापुरले ६६ करोड ९९ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेका छन् ।
चुक्ता पुँजी समग्रमा १८ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको सिमेन्ट कम्पनीहरुको जगेडा कोषमा (सञ्चित र सेयर प्रिमियम)मा १७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । शिवम् सिमेन्ट्स र सर्वोत्तमको जगेडामा ५ अर्ब भन्द धेरै रकम जम्मा छ । घोराही र सोनापुरको भने जगेडमा क्रमशः ३ अर्ब ९४ करोड र २ अर्ब ८२ करोड देखिएको छ ।


