काठमाडौं । चालु आर्थिक वर्षको यसअवधि (मंसिर १० गते)सम्म आइपुग्दा ३९ कम्पनीले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् । ३९ कम्पनीहरुमध्ये ३१ वटाले आफ्नो साधारण सभाबाट आइपीओ बिक्रीको प्रस्ताव पारित गरिसकेका छन् । ८ कम्पनीको भने उक्त सभा हुन बाँकी छ ।
आइपीओ बिक्रीको प्रस्ताव पेश गर्नेमा होटल, हस्पिटल, फार्मास्युटिकल्स, सिमेन्ट र हाइड्रोपावरलगायत रियल सेक्टरका कम्पनीहरु बढी छन् । कम्पनीहरुको साधारण सभाबाट आइपीओ प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्नेछ ।
त्यसपछि, अन्तिममा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट साधारण सेयर बिक्रीका लागि अनुमति पाएपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछन् । पछिल्लो समय धेरै कम्पनीहरुले आइपीओ बिक्रीका लागि बोर्ड समक्ष आवेदन पेश गरेका छन् ।
कम्पनीले आफ्नो आयोजना वा प्लान्ट विस्तार गर्न साथै, केही कम्पनीले बैंकको कर्जा तिर्नका लागि आइपीओ जारी गर्ने तयारी गरेका हुन् । आइपीओ जारी गरेपछि कम्पनीहरुको पुँजी बढ्छ र लगानी विस्तार गर्न सजिलो हुन्छ ।


