काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभरका विश्वविद्यालयलाई स्वायत्त बनाउनु आवश्यक भएको बताएकी छन्।
बुधबार कीर्तिपुरस्थितत्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै उनले एकै प्रधानमन्त्रीले १९ वटा विश्वविद्यालयको जिम्मेवारी बहन गर्नु व्यवहारिक नहुने स्पष्ट पारिन्।
‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरि भारी बोकेर हिँड्न सकिँदैन,’ कार्कीले भनिन्, ‘स्वायत्तताको माग उठिरहेकाले अब विश्वविद्यालयले आफ्नै कार्यक्रम र योजना बनाउन पाउनुपर्छ।’
उनका अनुसार कुलपति राजनीतिक आधारमा होइन, विज्ञमार्फत चयन हुनुपर्छ। ‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमाफर्त होस्, सभाले खोजोस्,’ उनले भनिन्, ‘पोलिटिकल कारणले कहिले सभा नहुने । यो कारण भएन । विश्वविद्यालयले आफ्नको कार्यक्रम आफैं बनाउन पाउनु पर्छ । आफैं आर्जन गर्नुपर्छ । तर सरकारले हेर्नुपर्छ, अनुदानमा सरकारले मद्यत गर्नुपर्छ ।’
प्रधानमन्त्री कार्कीले राजनीतिक कारणले विश्वविद्यालयसभा प्रभावित हुने गरेको उल्लेख गर्दै यसले शैक्षिक विकासमा बाधा पुुग्ने बताइन्।
यसैबीच त्रिभुवन विश्वविद्याल सभा (सिनेट) बैठकले आर्थिक बर्ष २०८२, ०८३ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको सभाले नीति तथा कार्यक्रम पारित गरेको हो।

