निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमा ४ अर्ब १५ करोड मुद्धति निक्षेप लगानी गर्ने

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकहरूको मुद्धति निक्षेपमा ४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। यसका लागि कोषले वाणिज्य बैंकहरूमार्फत प्रस्ताव आह्वान गरेको छ।

कोषका अनुसार बैंकहरूले चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको ब्याजदर शिलबन्दी दरभाउपत्र भरी कुल लगानीयोग्य रकमभित्र लिन चाहेको रकम उल्लेख गरी कोषमा बुझाउन सक्नेछन्। इच्छुक बैंकहरूले मंसिर १५ गते कार्यालय समयभित्र प्रस्ताव पेश गर्नुपर्नेछ।

कोषले लगानीका लागि बैंकले केही मापदण्डहरू पूरा गर्नुपर्ने जनाएको छ। बैंक संचालनमा आएको कम्तीमा पाँच वर्ष पूरा भएको, पछिल्ला पाँच आर्थिक वर्षदेखि निरन्तर नाफामा रहेको, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जाको आठ प्रतिशतभन्दा कम रहेको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको र कर्जा तथा स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी अनुपात राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको हुनुपर्ने बताइएको छ।

यस्तै, लगानी गर्न चाहने बैंक वा त्यसका कार्यकारी पदाधिकारीलाई नेपाल राष्ट्र बैंकले प्रचलित कानुनअनुसार सचेत गराइएको बाहेक अन्य जरिवाना वा सजाय भएको भए सो कारबाही भएको छ महिना पूरा भएको हुनुपर्नेछ। शीघ्र सुधारात्मक कारबाहीमा परेको भए सो कारबाही फुकुवा भएको कम्तिमा तीन महिना पूरा भएको हुनुपर्छ। समस्याग्रस्त घोषणा नभएका बैंकहरूले मात्र आवेदन दिन सक्ने कोषले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार