सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना बनाउन सुरु गरेको छ । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना बनाउने अन्तरक्रिया तथा सुझाव सङ्कलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेकाे हाे ।
अन्तरक्रियामा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य एवं ग्राजुयट स्कूल अफ इन्जिनियरका डीन सह–प्राडा राजन सुवाल, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष टेकबहादुर खाँड, खड्कबहादुर सिङ्जापति, तेजबहादुर चन्द, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाहीलगायतले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवं जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायलाई ध्यानमा राखी योजना ल्याउन सुझाए ।

