काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ता गर्ने अवधि ४ दिन थप गर्ने निर्णय गरेको छ ।
आयोगको कात्तिक २८ गतेको निर्णयअनुसार प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि २०८२ मंसिर १ गतेदेखि १० गतेसम्म तोकेकोमा उक्त अवधिमा १०६ वटा दलबाट निवेदन प्राप्त भइसकेको आयोगले जनाएको हो ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको जम्मा संख्या १३७ पुगेको र नयाँ दल दर्ताका लागि पेस निवेदनमाथिको कारबाही प्रक्रिया पनि जारी रहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार दल दर्ता प्रक्रियामा सेवाग्राहीको चाप अत्यधिक देखिएको तथा राजनीतिक दल र सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको बुधवार बसेको बैठकले दल दर्ता अवधि ४ दिन थप गर्ने निर्णय गरेको हो ।
त्यस्तै, २०८२ माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि दल दर्ता अवधि २०८२ मंसिर १ गतेदेखि ७ गतेसम्म तोकिएकोमा, उक्त अवधिमा १३ वटा दलले निवेदन पेस गरेको आयोगले जनाएको छ । आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै निर्वाचनका लागि दल दर्ता प्रक्रिया निर्वाचन कानूनी व्यवस्थाअनुसार नै अघि बढिरहेको जनाएको हो ।

