बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्‍ने

काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ । अहिले नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप बिजुली किन्ने सहमति गरेको हो ।

बंगलादेशको ढाकामा भएको बिहीबार नेपाल -बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा उक्त सहमति भएको हो । नेपाल तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेश सरकारको विद्युत् ऊर्जा तथा खनिज सचिव फर्जाना ममताजको सहअध्यक्षतामा ७औं बैठक बसेको हो ।

मंसिर १० मा नेपाल सरकारका ऊर्जा सहसचिव सन्दीप कुमार देव र बंगलादेशको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसलाई सचिवस्तरिय छलफलबाट सहमति गरिएको छ ।

हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५- नोभेम्बर १५ सम्म बिजुली बिक्री गर्ने गरी नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा सम्झौता भएको थियो । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी सम्झौता भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि स्वीकृति दिएको छ ।

नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशको बरापुकारया, पञ्चगढ रठाकुरगाउँ, भेडामारा र कोमिल्ला सम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न अध्ययन गर्ने समेत सहमति भएको छ ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सम्बन्धी समझदारी पत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पुरा गरी हस्ताक्षर गर्ने र उक्त सम्झौताअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परिक्षण, विद्युतीय चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने विषयमा सहमति भएको छ ।

नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने र बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा एवं नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार