काठमाडौं ।घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् ।
दुई सङ्गठनबीच मार्क्सवाद–लेनिनवादलाई आत्मसाथ गर्दै वैधानिक समाजवादतर्फ बढ्ने कुरामा सहमति जुटेको हो । त्यस्तै समाजवादको ठोस कार्यभारलाई नेतृत्व गर्न सक्ने विशेषता दुई सङ्गठनमा रहेको दाबी गरिएको छ ।
जसमा दलाल पुँजीवादका ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादी रुपान्तरणलाई सुनिश्चित गर्ने, राष्ट्रिय पुँजीको विकास गरी बेरोजगारी अन्त्य गर्ने, सबै खालका भ्रष्ट्राचारको अन्त्य गर्ने र सुशासन कायम गर्ने लगायतका विशेषता रहने भनिएको छ ।
पार्टीको चुनाव चिह्न नेकपा संयुक्तको हँसिया चिह्न राख्ने, झण्डा प्रचलित कम्युनिस्ट पार्टीको झन्डामा बौद्धिक श्रमको पनि प्रतिनिधित्व गर्ने सङ्केत प्रयोग गर्ने सहमति भएको छ ।

