वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो ।

सरकारले युएई मुलुकका हकमा रु चार हजार ५०० बाट दोब्बर बढाएर रु नौ हजार ५०० र अन्य मुलुकको हकमा रु छ हजार ५०० बाट रु नौ हजार ५०० पु¥याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनको बुझाइ रहेको एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, खाडी तथा मलेसिया जाने कामदारका लागि रु १० दश हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै नौ हजार ५०० लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले उल्लेख गरे । रोजगारीका लागि विशेषगरी मलेसिया र खाडीमुलुक जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने एशोसिएसनको भनाइ छ ।

ती मुलुकमा दैनिक एक हजार ५०० युवा रोजगारका लागि जाने गरेका र उक्त निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एशोसियसनले जनाएको छ । गन्तव्य मुलुकले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो मुलुकको मापदण्डअनुसार स्वास्थ्यपरीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको जनाइएको छ ।

नेपालमा हुने स्वास्थ्य परीक्षण केबल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएको एशोसियसनको भनाइ छ । एशोसियसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुनेगरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार