काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले महाधिवेशनको मिति पुष्टि गर्दै अब विशेष महाधिवेशनको आवश्यकता नभएको जानकारी दिएका छन् ।
‘१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुपर्छ,’ उनले भने । कांग्रेसले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणको अन्तिम समय सीमा २०८२ असोज मसान्तसम्म तोकिएको छ । नवीकरण नभएका वा विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूची र रकम केन्द्रमा मंसिर २५ गतेभित्र पठाउनुपर्नेछ ।
पुस ८ गतेभित्र सूची पठाइसकेपछि पनि नवीकरण गर्न आउने सदस्यका विवरण छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने व्यवस्था गरिएको छ । नेपाली जनसम्पर्क समितिको अधिवेशनसम्बन्धी निर्णयअनुसार, जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको वितरणको सम्पूर्ण कार्य मंसिर मसान्तसम्म गर्नेछ ।
नयाँ र नवीकरण सदस्यताको नामावली केन्द्रमा पठाउने समय पुस ३ गतेसम्म राखिएको छ। केन्द्रबाट स्वीकृति पुस ५ गतेसम्म हुनेछ र पुस १५ गतेभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न हुने निर्णय गरिएको छ ।
गाउँ-नगर वडा अधिवेशन पुस १६ गते, गाउँ-नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१-२२ गते हुने तय गरिएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ गते, र केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भएको छ।

