पुटिन–अमेरिकी राजदूत बीच भेटवार्ता हुने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मङ्गलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्नुहुने भएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको नियमित ब्रिफिङमा विटकफसँगको बैठक भोलि दिनको दोस्रो भागमा हुने कार्यक्रम रहेको जानकारी दिए ।

यसअघि अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको प्राथमिक छलफलपछि वासिङ्टनले प्रस्ताव गरेको सम्भावित शान्ति–ढाँचाबारे दुवै पक्षको संवाद अघि बढिरहेको छ । संयुक्त राज्य अमेरिकाले मस्को–किएभ युद्ध अन्त्य गर्न एक प्रकारको ‘आधारभूत रूपरेखा’ प्रस्तुत गर्न चाहेको बताउँदै आएको छ ।

राष्ट्रपति पुटिनले गत हप्ता आफ्नो कडा मागहरू दोहो¥याउँदै किएभलाई मस्कोले दाबी गरेका क्षेत्रमा आत्मसमर्पण गर्नैपर्ने अन्यथा रुसी सेनाले ‘आवश्यक परे बलपूर्वक नियन्त्रण लिने’ चेतावनी दिएका थिए। राजदूत विटकफले पुटिनलाई यसअघि पनि क्रेमलिनमा धेरै पटक भेटेका थिए  । तर उनले मस्कोसँगको संवादमा अपनाएको शैलीबारे अमेरिकाभित्र नै आलोचना भएको छ ।

प्रारम्भिक अमेरिकी योजना क्रेमलिनको मागतर्फ बढी झुकाव भएको जस्तो देखिएको भन्दै कतिपय अधिकारीहरू र विश्लेषकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यता युरोपेली सङ्घ (इयु) ले आगामी हप्ता ‘युक्रेनका लागि अत्यन्त महत्त्वपूर्ण’ हुने चेतावनी दिँदै कूटनीतिक गतिविधि बढाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार पेरिसमा रहेर किएभका लागि युरोपेली समर्थन विस्तार गर्न सक्रिय थिए । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न सम्भावित सम्झौताको सम्भावनाबारे आशावादी मनोवृत्ति प्रकट गरे । पुटिन–विटकफ भेटले शान्ति प्रक्रियामा नयाँ मोड आउने कि नआउने भन्ने विषयले अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार