प्रमुख प्रशासकीय अधिकृत राम साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जनचेतनामूलक डकुमेन्ट्री निर्माण गर्ने बहानामा नक्कली काम देखाई सरकारी रकम हिनामिना गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगले अनुसन्धानमा नगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम र बजेट बिना नै बदनियतपूर्ण ढङ्गले ‘सरिता फाउन्डेसन’ नामक संस्थालाई डकुमेन्ट्री बनाउन दिएको खुलेको जनाएको छ । सम्झौता विपरीत जनचेतनामूलक सन्देशको साटो नगर प्रमुखको गुणगान गाएको भिडियो बनाएको, सो भिडियो कतै प्रसारण समेत नभएको र नक्कली कागजात खडा गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगको भनाइ छ ।

मुद्दा दायर गरिएकाहरूमा तत्कालीन प्रशासकीय अधिकृत साह, लेखापाल विवेक कुमार सहनी, सहायकस्तरका कर्मचारीहरू राम नरेश प्रसाद यादव, उमेश कुमार दास तत्मा, खरिदारद्वय कौशल किशोर चौधरी र छोटेलाल मिश्र तथा सरिता फाउन्डेसनकी निर्देशक सरिता कुमारी साह रहेका छन् ।

उनीहरूविरुद्ध ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार