नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबीच पुरानो मित्रताको पुनःमापन गर्ने महत्त्वपूर्ण क्षण मानिएको छ ।
सन् २०२१ डिसेम्बरपछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुगे ।
प्रधानमन्त्रीले रुसी अतिथिलाई रुसी भाषामा अनुदित पवित्र भगवद् गीताको प्रतिलिपि उपहार दिँदै यस शास्त्रले विश्वभरका लाखौँ मानिसलाई प्रेरित गर्ने बताए । पालम विमानस्थलमा प्रधानमन्त्रीले पुटिनलाई आलिङ्गन गर्दै स्वागत गर्दा परम्परागत नृत्यगानले वातावरण झन् उत्साहपूर्ण बनेको थियो । प्रधानमन्त्री मोदीले एक्समा भारत–रुस मित्रतालाई ‘समय–परीक्षित’ भन्दै राष्ट्रपति पुटिनलाई पुनः स्वागत गर्न पाउँदा खुसी रहेको उल्लेख गरे ।
राष्ट्रपति पुटिन ५ डिसेमबर (शुक्रबार)सम्म भारतमा रहनेछन् र यसै क्रममा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसँग विस्तृत वार्तामा बस्नेछन् । त्यसअघि उनले राष्ट्रपति भवनमा औपचारिक स्वागत, त्रिसेवा गार्ड अफ अनर ग्रहण गर्ने र राजघाटमा महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । हैदराबाद हाउसमा दुवै नेताको सीमित र विस्तारित वार्ता हुनेछ ।
पूर्वकूटनीतिज्ञ अरुण सिंहले भारत–रुस सम्बन्ध राजनीतिक समर्थन, रक्षा सहयोग र परम्परागत विश्वासमा आधारित भएकाले पुटिनको यो भ्रमण अत्यन्त महत्त्वपूर्ण रहेको टिप्पणी गरे । उनका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसले भारतलाई दिएको निरन्तर समर्थनले दुवै मुलुकबीचको स्थायी साझेदारीलाई अझ मजबुत बनाएको छ ।

