काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्ना ९ औँ वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर ०.५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्नेछ । यो प्रस्ताव पारित गर्नका लागि आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा.लि मा दिउँसो २ बजेदेखि साधारणसभा बस्दैछ ।
सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।

