CLI

नोक्सानीमा रहेको सागर डिष्टिलरी लिमिटेडको शेयरमा चलखेल, पहिलो पटक ओरालो लाग्यो शेयर मूल्य

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको शेयरमा चलखेल भएको छ । नोक्सानीमा रहेको कम्पनीको शेयर मूल्यमा चलखेल गरी निरन्तर बढाएको पाइन्छ । शेयरलगानीकर्ताहरुको चलखेलका कारण कम्पनी नोक्सानीमा रहे पनि शेयर बजारको दोस्रो बजारमा भने मूल्य निरन्तर बढ्ने तथा सकारात्मक सर्किट लाग्ने गरेको थियो । आइतबार भने सागर डिष्टिलरी लिमिटेडको शेयर मूल्य ७ प्रतिशत अर्थात् १३४ रुपैयाँ ७० पैसा घटेको छ । यो सँगै १८१७ रुपैयाँ १० पैसा कायम भएको छ । निरन्तर सकारात्मक रहेको शेयर मूल्य आइतबार घटेको हो ।
वित्तीय विवरणमा समस्या रहे पनि आईपीओ स्वीकृति पाएको सागर डिष्टिलरीको शेयरमा अहिले शेयर बजारमा सीमित लगानीकर्ताहरुको चलखेलका कारण शेयर मूल्यमा वृद्धि देखिएको थियो । शेयर बजारमा केही सीमित समूहका व्यक्तिहरूले चलखेल गर्दै कम्पनीको शेयर मूल्य कृत्रिम रूपमा बढाउने काम भएको थियो ।

कम्पनीको वास्तविक आर्थिक अवस्था कमजोर छ र घाटा बढ्दै गएको छ । तर, बजारमा हुने चलखेलका कारण शेयर मूल्य अझै उच्च देखिन्छ ।

लगानीकर्ताहरुले आधारभूत तथ्यांकभन्दा बढी बजारको हावा, हल्ला, र छोटो समयमै फाइदा कमाउने मनोवृत्तिमा आधारित निर्णय गरिरहेको शेयर विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार  बजारमा कुनै सीमित समूहको आक्रामक खरिदले पनि साना कम्पनीहरुको मूल्य सजिलै बढाइएकोले  यी सेयरहरु सर्किट लेबलमा कारोबार भएका छन् । साना कम्पनीका सेयरमा मूल्य चलखेल सजिलो पनि हुन्छ । सेयर सप्लाई कम हुन्छ । त्यसमाथि ३ वर्षसम्म संस्थापक समूहको सेयर लकइन हुन्छ ।

त्यसैले, नयाँ आइपीओ वा साना कम्पनीहरुमा चाँडै धेरै कमाइन्छ भन्ने मानसिकता छ । बजारमा कुनै पनि सेयर लगातार बढ्न थाल्यो भने धेरैले यो त अझै बढ्छ भनेर अनुमान गर्छन् । यस्तो देखासिकी कारोबारले  गर्दा यस्ता कम्पनीमा आकर्षण बढेको हो ।

पछिल्लो कारोबार दिनहरुमा कमजोर वित्तीय अवस्था रहेका कम्पनीहरुको बजार भाउ बढेको छ । सागर डिस्टिलरी, बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोको सेयर भाउमा वृद्धि देखिएको छ । तर, यी कम्पनीहरुको वित्तीय अवस्था भने खासै राम्रो छैन ।

यस्तो छ वित्तीय विवरण

सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले कम्पनीको व्यवसायिक गतिमा उल्लेख्य सुधार देखाए पनि नोक्सानीबाट भने कम्पनी पूर्णरूपमा बाहिर निस्कन नसकेको संकेत गर्छ।

कम्पनीले असोज मसान्तसम्ममा २ करोड ७६ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३५.१७ प्रतिशत वृद्धि हो। गत वर्ष यस अवधिसम्म यो रकम १ करोड १७ लाख रुपैयाँ मात्र थियो।

आम्दानी बढे अनुसार नोक्सानीमा पनि कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी, यो वर्ष त्यही अवधिसम्म १ करोड ५३ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ। आय–व्यय सुधारसँगै कम्पनीको कुल नाफा १९८.८८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ५.१० प्रतिशत वृद्धिमा रहेको छ।

तर, अझै पनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक अवस्थामै छ। असोज मसान्तसम्म EPS ८ रुपैयाँ ४४ पैसा ऋणात्मक रहेको जबकि प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४७ पैसा रहेको छ।

आईपीओ मार्फत चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुर्याएको कम्पनीको अन्य इक्विटी २१ करोड ८६ लाख रुपैयाँ छ।

सागर डिष्टिलरीको आम्दानीमा देखिएको तीव्र सुधार सकारात्मक भए पनि नोक्सानी घटाउने क्षमता आगामी त्रैमासिक नतिजाले अझ स्पष्ट पार्नेछ।

 

 

Leave Your Comment

Related News