काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधि सभा पुन:स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ ।
विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेले वारेसमार्फत रिट सर्वोच्चमा पठाएको जानकारी दिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित आठ जनाले आइतबार सर्वोच्चमा रिट पेस गरेका थिए। घिमिरे र थिङबाहेक अरू सांसद को थिए भन्ने खुलेको थिएन।
सर्वोच्चको प्रशासन स्रोतका अनुसार रिट निवेदन दिनेमा कांग्रेसका सांसदहरू आशा विक, दीपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र श्रवण कुमार श्रेष्ठ छन्।
उनीहरूले आफ्नो रिटमा निर्वाचनका सबै गतिविधि रोक्न माग गरेका छन्।
कांग्रेस सांसदहरूको हस्ताक्षर संकलनमा घिमिरेले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
सांसदहरूको हस्ताक्षरसहित वारेसका रूपमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीले रिट पेश गरेका हुन् । खाती कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छँदा महान्यायाधिवक्ता थिए ।
केन्द्रीय समिति बैठकले नै संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको भन्दै उनले सर्वोच्चले न्यायिक निरुपण गर्ने विश्वास व्यक्त गरे ।

