म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए ।
‘चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ । २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युत् गृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौं,’ उनले भने । कुल ५ हजार ७ सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।
बाँध निर्माणस्थलमा भने ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । आयोजनाका लागि २०८० चैत १९ मा लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टरसँग सम्झौता भएको थियो ।
धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ ।
विद्युत् गृहबाट मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेसन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ ।
सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

