काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो १ महिनामा ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओ सहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ कम्पनीलाई आइपीओ र एउटालाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो । छोटो समयमा सेबोनले धेरै कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको देखिन्छ ।
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनका कारण बोर्डको दैनिक कामकार्य प्रभावित भएको थियो । त्यसैले २ महिनासम्म आइपीओ प्रकृया पनि रोकिएको हो । अहिले भने बोर्डले धमाधम सेयर जारी गर्न अनुमति दिएको छ ।
नेपाल धितोपत्र बोर्डका एक अधिकारीले कर्मचारीहरुको आन्दोलनका कारण केही समय आइपीओ बिक्रीको अनुमति दिन ढिलाई भएको बताउँछन् । उनले भने, ‘बोर्डको दैनिक प्रशासनिक काम ठप्प हुँदा आइपीओको अनुमति प्रकृया पनि रोकिएको थियो । तर, अहिले बोर्डको काम कारबाही पुनः सुरु भएको छ । त्यसैले पाइपलाइनमा रहेका कम्पनीहरुलाई पनि सेयर बिक्रीको अनुमति दिन सुरु गरिएको हो । प्रकृया पुर्याएर बोर्डमा आवेदन दिने कम्पनीहरुलाई अनुमति दिने थालिएको हो ।’
बोर्डले विजय लघुवित्तलाई मंसिर १४ गते एफपीओ बिक्री गर्न अनुमति दिएको थियो । संस्थालाई ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बिक्रीका लागि अनुमति दिइएको हो । अब विजयले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ । १० दिन अगाडि सेयर जारी गर्ने अनुमति पाएपनि कम्पनीले हालसम्म सेयर बिक्री खुला गर्ने मिति तय गरेको छैन ।
यता, बोर्डबाट सोलु हाइड्रोपावर, सालपा विकास बैंक, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी र रिलायन्स स्पिनिङ मिल्सले पनि आइपीओ बिक्रीको अनुमति पाएको छ । जसमध्ये, सोलु हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा २ करोड कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो ।
सालप विकास बैकले १७ लाख २३ हजार ८८० कित्ता, भुजुङ्ग हाइड्रोपावरले २० लाख कित्ता, रिज लाइन इनर्जीले २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । त्यसैगरी, रिलायन्स स्पिलिं मिल्सले ११ लाख ५५ हजार ९६० हजार कित्ता सेयर जारी गर्दैछ । ६ वटा कम्पनीहरुले २ करोड ७९ लाख ५३ हजार कित्ता सेयर बिक्रीका लागि बोर्डबाट स्वीकृति पाएका छन् । कम्पनीहरुले सोही कित्ताबाट स्थानीय, कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणलाई सेयर जारी गर्नेछन् ।
आइपीओ अनुमति पाएका कम्पनीहरुमध्ये सोलुले भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको सेयर बाँडफाँट गरिसकेको छ । अब यो कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्नेछ ।
भुजुङ्ग, रिज लाइन, सालपा विकास बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु र स्थानीयहरुका लागि सेयर बिक्री खुला गर्न बाँकी छ । त्यसपछि कम्पनीहरुले सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछन् । यता, रिलायन्स स्पिनिङ मिल्सको भने विदेशमा रहेका नेपालीहरुका लागि सेयर बिक्री खुला रहेको छ ।

