CLI

आज पनि रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ।

उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर मुद्दाको मिसिलमा जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालत नामामा समावेश भएको भन्दै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने तर्क गरेर सुनुवाइ स्थगित गरेका थिए ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने र जोशीको मुद्दाको सुनुवाइ आज न्यायाधीशहरू तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलासमा तोकिएको थियो।

सुनुवाइ तोकिएका न्यायाधीश सागर विष्ट र जाहेरवाला कानुन व्यवसायी शालिकराम पौडेल यसअघि एकै ठाउँ काम गरेको र चिनजानका व्यक्ति भएको भन्दै पेसी सारिएको कुँवरले जानकारी दिए।

सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा गत कात्तिक गत १३ गतेपछि निरन्तर सरिरहेको छ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको भन्दै रवि लामिछाने सहितका चार जना व्यक्तिहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर जिल्ला अदालत रूपन्देहीमा अभियोग पत्र दायर गरिएकोमा लामिछानेले उक्त बिगोमध्ये आफ्नो भागको एक भाग बराबर बिगो बुझाएर रिहा हुन पाउनुपर्ने माग राख्दै अदालतमा निवेदन दिएका थिए।

लामिछानेले बिगोमध्ये आफ्नो भागकोे २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत अदालतमा पेस गरे पनि जिल्ला अदालतले अस्वीकार गरेको थियो। गत साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको भागको बिगो यकिन नभएको भन्दै रिहा गर्न अस्वीकार गरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

लामिछानेले जस्तै जोशीले पनि आफ्नो भागमा पर्ने बिगोबापतको रकम बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। अदालतले लामिछाने र जोशी दुवैको निवेदन एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ। तर लामिछाने र जोशीका कानुन व्यवसायीले भने पटक पटक सुनुवाइ स्थगित गर्दै आएका छन्।

यसअघि मंसिर ४ गतेको लागि तोकिएको सुनुवाइ पनि लामिछानेकै कानुन व्यवसायीको निवेदनमा स्थगित गरिएको थियो।

 

Leave Your Comment

Related News