एक सातामा नै ४ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । पछिल्ला दिनहरु नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो ।

गत मंसिर १९ गते शुक्रबार २ लाख ५२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंसिर २६ गते शुक्रबार आइपुग्दा प्रतितोला २ लाख ५६ हजार ४०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत मंसिर २१ गते आइतबार  २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भयो । त्यस्तै, मंसिर २२ गते २ लाख ५२ हजार ९०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भयो ।

त्यस्तै, मंसिर २३ गते २ लाख ५१ हजार ९०० रुपैयाँ, मंसिर २४ गते २ लाख ५२ हजार १०० रुपैयाँ, मंसिर २५ गते २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको महासंघले जनाएको छ । मंसिर २५ गते बिहीबारको तुलनामा शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँ वृद्धि भएको छ । पछिल्ला दिनहरुमा सुनको मूल्य पुनः बढ्न थालेको सुन व्यवसायीहरु बताउँछन् । सुनको मूल्य लगातार बढ्नुमा केही आन्तरिक र बाह्य कारण रहेको व्यवसायी बताउँछन् । अहिले लगनको महिना भएकाले नयाँ सुनका गहना खरिद गर्ने हुँदा त्यसको मूल्य स्वभाविक रुपमा बढ्ने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार