वीरगञ्ज (पर्सा)। सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले चालू आर्थिक वर्षको झन्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्दै आएको छ।
सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरेर भित्र्याइएका १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्रको सक्रियता बढाएसँगै अवैध चोरी÷तस्करी गरेर भित्र्याइने वस्तु तथा सामान नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको जानकारी दिए।
‘गत आवभरिमा २८ करोड ९२ लाख ५० हजार मूल्य पर्ने अवैध चोरी तस्करीका सामान बरामद गरेका थियौं’, उनले भने, ‘चालू आवमा पनि बरामद हुने सामानको उल्लेखनीय मात्रामा बढेकाले पनि गत आवभन्दा धेरै बरामद हुने आशा गरेका छौं।’
सशस्त्र प्रहरी बल पर्साले चालू आवको झन्डै पाँचमहिने अवधिमा बिलबिजकभन्दा बढीका आठ करोड ५९ लाख ७२ हजार ७५० मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। जबकि सशस्त्र प्रहरीले गत आवभरिमा ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलबिजकभन्दा बढीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो।
सशस्त्र प्रहरी उपरीक्षक भट्टले पर्सामा १०७ किलोमिटर खुला सीमानाका छिमेकी मुलुक भारतसँग जोडिएकाले पनि सशस्त्र प्रहरले चोरी तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्दै आइरहेको बताए।
‘हामीले तालिमप्राप्त कुकुरदेखि २४औँ घन्टा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाएर चोरी तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्दै आइरहेका छौं’, उनले भने, ‘सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा कदम चालेसँगै वीरगञ्ज भन्सार कार्यालयले पनि उत्साहजनक ढंगले राजस्व संकलन गर्दै आएको छ।’
वीरगञ्ज भन्सार कार्यालयले चालु आवको चार महिनामा ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको छ। जबकि गत आव सोही अवधिमा कार्यालयले ६६ अर्ब ७३ करोड मात्रै राजस्व संकलन गरेको छ। गत आवको चार महिनाको तुलनामा चालु आवको चार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले १३ प्रतिशत अर्थात् आठ अर्ब ७६ करोड बढी राजस्व संकलन गरेको छ।

