नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबारका लागि साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे देखि सुरु हुने छ । कम्पनीको २६औं वार्षिक साधारणसभाको मुख्य एजेण्डामा लाभांश प्रस्ताव पारित गर्ने रहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकूल संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार