काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लाभांश प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजे १४ औं वार्षिक साधारणसभा बोलाएको हो ।
साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको सेयर खरीद गर्ने सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

