काठमाडौं । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा हुनेगरी आह्वान गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आव २०८१–८२ सम्मको वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय पारित गरिनेछ । यस्तै शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य आयोजनाको सम्बन्धमा अध्ययन गरी लगानी गर्ने तथा लगानी गर्ने आयोजनाहरुमा कर्पोरेट बैंक ग्यारेन्टि दिने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै सभामा सहभागी हुन पाउने छन् ।

