काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएका छन् ।
आइतबार पार्टीको ११ औँ महाधिवेशनको उद्घाटनस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै बास्कोटाले एमाले सबैभदा बलियो शक्ति भएर बाहिर निस्कने दाबी गरे । ‘एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधता बिचको एकता नै एमाले हो’, उनकाे भनाइ छ ।
बास्कोटाले वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा पोलिटब्युरो ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी बताउने केन्द्रीय कमिटीको निर्णय सहमतिबाट नै भएको पनि जानकारी दिए । ‘यो सैद्धान्तिक प्रश्न नभएर प्राविधिक विषय भएकोले यसरी नै जाऊँ भनेर अध्यक्षले भन्नुभयो, विभिन्न कुरा उठे तर मत–मतान्तर भने भएन’, उनले भने ।
गोदावरीको विधान महाधिवेशन र अहिलेको अवस्थामा केही फेरबदल आएकोले व्यवस्थापनको लागि यस्तो निर्णय गरिएको उनकाे भनाइ रहेकाे छ । ‘सङ्ख्या १० औँ महाधिवेशनको जस्तै रह्यो, वरिष्ठ उपाध्यक्ष लगायतका केही पदाधिकारीको सङ्ख्या घट्यो तर पदाधिकारी सङ्ख्या १९ नै रहने भयो’ ।
बास्कोटाले प्रतिनिधिहरूको सहमतिबाट नै नेतृत्व टुङ्गियोस् भन्ने चाहना रहेको बताउँदै सहमतिको लागि प्रयास हुने बताए । सहमति नभए मतदानबाट निर्णय हुने र त्यसले पनि एमाले पार्टीमा कुनै फरक नपर्ने उनकाे धारणा छ । ‘प्रतिनिधिले गरेको निर्णय सबैले मान्नु पर्छ, मानिन्छ’।
बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पार्दै । ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन’, उनले भने ।
अधिवेशनको बेलामा ‘आगो बलेको बेलामा धुवाँ आउँछ नि, यसलाई स्वाभाविक रूपमा लिनु पर्छ’, उनले भने ।
प्रचण्डले भन्दैमा एमालेमा कुनै टुटफुट र विभाजन नहुने उनकाे धारणा रहेकाे छ । बास्कोटाले प्रचण्डलाई आफूले बनाएको स्वार्थबन्दीको मोर्चा चलाएर देखाउन आग्रह गरे। ‘कसैले जित्यो वा हार्यो भन्दैमा एमाले विभाजित हुन्छ भन्ने चेतना लघुताभाषी चेतना हो’, उनकाे भनाई रहेकाे छ
एमाले अध्यक्ष केपी ओलीलाई पार्टीमा कसलाई के बनाउने भन्दा पनि एमालेलाई पहिलो पार्टी बनाउने चिन्ता भएको बास्कोटाले बताए। त्यसैले पार्टी भित्र कसलाई के बनाउने भन्ने धन्दामा केपी ओली नलाग्ने उनले स्पष्ट पारे ।
बास्कोटाले एमाले चुनावबाट नभाग्ने बताउँदै चुनावको लागि वातावरण बनाउन आग्रह गरेक ा छन् । लुटिएका हतियार फिर्ता ल्याउनु पर्ने, एमाले अध्यक्षलाई लगाएको स्थानहद खोलिदिनु पर्ने र राजनीतिक दलहरू सहज रूपमा निर्वाचनमा जाने वातावरण बनाउनु पर्नेमा उनकाे जाेड रहेकाे छ ।

