काठमाडौं । आज एकैदिन पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ । आज विभिन्न क्षेत्रका पाँच कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गर्ने भएको हुन् ।
आज साधारणसभा गर्ने सबै पाँच कम्पनीहरुको मुख्य एजेण्डा लाभांश प्रस्ताव पारित गर्ने रहेको छ । आज साधारणसभा सम्पन्न गर्न लागेका कम्पनीहरुमा माउन्टेन इनर्जी, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, आईसीएफसी फाइनान्स र सिक्लेस हाइड्रोपावर रहेका छन् । माउन्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारित गर्ने छ । कम्पीको साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुने छ । यो कम्पनीको १२ औं वार्षिक साधारणसभा हो ।
त्यस्तै आज कृषि विकास बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) र अविमोच्य असंचिति अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ । बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले १९ प्रतिशत लाभांश (कर सहित) घोषणा गरेको छ । लाभांश पारित गर्न आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे ३९ औं वार्षिक साधारणसभा बस्दैछ । बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ। आईसीएफसी फाइनान्स लिमिटेडले १५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ । प्रस्ताव पारितका लागि आज काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे २२ औं वार्षिक साधारणसभा बस्दैछ । यो कम्पनीले मंसिर १९ गते नै बुक क्लोज गरिसकेको छ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको छ । लाभांश पारितका लागि आज पोखराको घारपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे २० औं र २१ औं वार्षिक साधारणसभा बस्दैछ । कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ भने साधारणसभामा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि समावेश गरेको छ ।

