काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन’ गर्ने भएको छ । फरक प्रकृतिका कम्पनीहरुले पनि आइपीओ जारी गर्ने तयारी गरेसँगै बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ संशोधन गर्न लागेको हो ।
आइपीओ अनुमति माग्दै बोर्डमा आवेदन दिएका र आइपीओ ल्याउने तयारीमा रहेका केही कम्पनीहरुको व्यापारको प्रकृति नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुको भन्दा फरक छ । नेप्सेमा बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर, बिमा, होटल्स जस्ता कम्पनीहरुको संख्या धेरै छ । तर, अहिले हेलिकप्टर, टेलिभिजन, हस्पिटल, पेन्ट, फार्मास्युटिकल, एग्रोलगायत रेमिटेन्स कम्पनीहरुले पनि आइपीओ ल्याउने तयारी गरेका छन् ।
त्यसैले, नयाँ तथा फरक प्रकृतिका कम्पनीलाई दोस्रो बजारमा प्रवेश गराउन सहज होस् भन्दै नीतिगत तथा कानुनी व्यवस्था मिलाइन लागिएको धितोपत्र बोर्डका एक अधिकारीले जनाएका छन् । उनले उदाहरण दिंदै भने ‘हाइड्रोपावर, बैंक, बिमा, हेलिकप्टर, आइटी, कलेज, हस्पिटल जस्ता कम्पनीहरुको बिजनेस नेचर फरक हुन्छ । सबै सेक्टरका कम्पनीहरुको बिजनेस नेचरका आधारमा के के कानुनी व्यवस्था गर्न उपयुक्त हुन्छ भनेर अध्ययन गर्न समिति बनेको छ ।’
त्यसो त, नेपाल धितोपत्र बोर्डको पाइपलाइमा फरक फरक सेक्टरका कम्पनीहरुले आइपीओ बिक्रीका लागि अनुमति मागेका छन् । जसमध्ये, अन्य समूहमा मात्रै ११ वटा कम्पनीहरु छन् । टिभी, रेमिटेन्स, सोलर, हेलिकप्टर, हस्पिटल, स्टील कम्पनी, एग्रो फार्म जस्ता कम्पनीहरु पनि अहिले बजार प्रवेश गर्दैछन् ।
‘नियामवलीमा समसामहिक परिमार्जन गर्न भनेर के-के आवश्यक छ भन्दै अध्ययन गर्न समिति बनेको हो । समितिले फाइनल ड्राफ तयार पारेको छ’, उनले भने, ‘विभिन्न सेक्टरका कम्पनीलाई पनि प्रवेश गराउन के के कानुनी व्यवस्था गर्नु पर्नेछ, त्यो कुरा पनि समितिले अध्ययन गरेको छ । फरक फरक सेक्टरका कम्पनीलाई प्रवेश गराउन सहजिकरण गर्न कसरी सकिन्छ भन्ने व्यवस्था गर्न लागिएको हो ।’
उनले भने, ‘यदि आइटी, हस्पिटल, हेलिकप्टर जस्ता कम्पनी बजारमा आउन खोजे भने कानुनी व्यवस्था अनुसार ती क्षेत्रका कम्पनीले डिस्क्लोज गर्नु पर्ने कुराहरु के के हुन्छन्, रिक्वाएरमेन्टहरु सबै मिल्छन् कि मिल्दैनन् भनेर समेटिदैं छ ।’
यता, साधारण सेयर निष्कासनको घोषणा गरेका कम्पनीहरुले पुँजी वृद्धि गरी व्यापार बढाउन वा बैंकको ऋण तिर्नका लागि पनि आइपीओ जारी गर्न लागेका हुन् । खासगरी, रियल सेक्टरका कम्पनीहरु अहिले आकर्षित छन् । सेयर प्रिमियमदेखि बुक बिल्डिङमा आइपीओ जारी गर्ने तयारीमा यी संस्थाहरु छन् । त्यसैले यस्ता कम्पनीहरुलाई बजारमा सहज प्रवेश गराउनका लागि बोर्डले नियमावली संशोधन गर्न लागेको हो ।

