ट्रम्पपछि इयुको नयाँ यथार्थ

ब्रसेल्स। सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसायोग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाटै युरोपेली सङ्घ (इयु) को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यहरूमाथि दबाब बढ्दै गएको छ । यही परिवेशमा यस हप्ता हुने इयु शिखर सम्मेलन असाधारण रूपमा महत्त्वपूर्ण मानिएको छ, जसले कठिन वर्षको अन्त्यतर्फ सङ्केत गरेको छ ।

गत हप्ता युरोपमा रहेका रुसी सम्पत्तिमा अनिश्चितकालीन रूपमा रोक लगाएपछि इयु नेताहरूले बिहीबार हुने शिखर सम्मेलनमा शक्ति र एकताको नयाँ परीक्षा सामना गरिरहेका छन् । युक्रेन गम्भीर आर्थिक सङ्कटमा परेकाले सम्भवतः नयाँ क्षतिपूर्ति ऋणको माध्यमबाट नेताहरूले आगामी दुई वर्षका लागि किएभको आर्थिक तथा सैन्य आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भने, “यो युरोप र युक्रेन दुवैका लागि सङ्कटको समय हो । युक्रेनी अर्थतन्त्रलाई सुरक्षित गर्नु मात्र होइन, ह्वाइट हाउससहित विश्व समुदायलाई युरोप एक बलियो भू–राजनीतिक खेलाडी हो भन्ने सन्देश दिन पनि यो निर्णय आवश्यक छ ।” हाल डेनमार्कले युरोपेली सङ्घ (इयु) को घुमाउरो अध्यक्षता गरिरहेको छ ।

महादेशमा दशकौँयताकै ठूलो स्थलयुद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धम्की, युरोपको अति–दक्षिणपन्थीप्रति उहाँको समर्थन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताले युरोपेली नेताहरूलाई निरन्तर दबाबमा पारेको छ । सुरुआती चरणमा युरोपेली नेताहरूले चापलूसीपूर्ण प्रतिक्रिया दिए पनि पछिल्ला महिनाहरूमा त्यो क्रम घट्दै गएको देखिन्छ ।

जनवरीदेखि ट्रम्पले कहिले युक्रेन र कहिले रुसप्रति झुकाव देखाउँदै धारणा परिवर्तन गरेका छन् । उनले युरोपको आलोचना बारम्बार गरेका छन् र त्यो आलोचना अझ कडा बन्दै गएको छ । यद्यपि युरोपेली नेताहरूले युक्रेनका लागि सैन्य सहयोग बढाएका छन्, उनीहरू स्वीकार गर्छन् कि संयुक्त राज्य अमेरिका अपरिहार्य साझेदार हो र पुटिनसँग शान्ति वार्ता गर्न सक्ने एकमात्र पश्चिमी नेता ट्रम्प नै हुन् ।

जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले चेतावनी दिँदै भने, “हामी अहिले निर्णायक मोडमा छौँ । अब पहिले जस्तो अवस्था छैन, फरक समय आएको छ र फरक प्रतिक्रियाहरू आवश्यक छन् ।”

ट्रम्प पुनः सत्तामा फर्किएको केही हप्तामै अमेरिकी प्रशासनले युरोपले अब आफ्नो सुरक्षा र युक्रेनको जिम्मेवारी आफैँ लिनुपर्ने सङ्केत दिएको थियो । उपराष्ट्रपति जेडी भान्सले जर्मनीमा अति–दक्षिणपन्थी नेतासँग भेट गर्दै युरोपमा अभिव्यक्ति स्वतन्त्रता कमजोर भएको र चुनावी हस्तक्षेप भएको आरोप लगाए । यिनै विचारहरू अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा समेत समेटिएका छन्, जहाँ इयुका आप्रवासन नीतिमाथि कडा आलोचना गरिएको छ ।

कार्नेगी युरोप थिङ्क ट्याङ्ककी जुडी डेम्प्सीले भने, “युरोपसँग प्रतिक्रिया दिनुबाहेक अब अर्को विकल्प छैन । यो अमेरिकी प्रशासनले साझेदारहरूलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा सबैले बुझिसकेका छन् ।”

गत महिना सार्वजनिक भएको ट्रम्प प्रशासनको युद्ध अन्त्यसम्बन्धी २८ बुँदे योजनाले युरोपलाई थप चिन्तित बनाएको छ । रुससँग मिलेर तयार गरिएको उक्त योजनामा क्रेमलिनका पुराना मागहरू समेटिएको भन्दै युक्रेन र उसका युरोपेली समर्थकहरूले अस्वीकार्य मानेका छन् । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भने ट्रम्पलाई युक्रेन युद्धका कारणहरू बुझ्ने एकमात्र पश्चिमी नेता भनेर प्रशंसा गरेका छन् ।

यसै वर्ष ट्रम्पले व्यापक भन्सार शुल्क घोषणा गर्दै आर्थिक आपतकाल घोषणा गरे । जुलाईमा अमेरिका र इयुबीच धेरै सामानमा १५ प्रतिशत भन्सार दर तय गर्ने सहमति भए पनि युरोपले यसलाई युक्रेनप्रतिको अमेरिकी समर्थन जोगाउने मूल्यका रूपमा स्वीकार गरेको देखिन्छ ।

व्यापार तनावका बाबजुद नाटोमा युरोपेली देशहरूले रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५ प्रतिशत पु¥याउने ट्रम्पको मागमा सहमति जनाएका छन् । इयुले भने सन् २०३० सम्म बाह्य आक्रमणबाट आफूलाई जोगाउन सक्षम हुने लक्ष्य लिएको छ । अधिकारीहरूका अनुसार यदि युक्रेन पराजित भयो भने पुटिनले तीनदेखि पाँच वर्षभित्र युरोपका अन्य भागमा आक्रमणको आदेश दिन सक्छन् ।

यही पृष्ठभूमिमा बिहीबार हुने इयु शिखर सम्मेलन आगामी दुई वर्षका लागि युक्रेनको अर्थतन्त्र र सैन्य प्रयासलाई वित्तपोषण गर्ने विषयमा केन्द्रित छ । यो बैठक संयुक्त राज्य अमेरिकाबिनै अघि बढ्ने अर्को निर्णायक कदमका रूपमा हेरिएको छ । बैठकका अध्यक्ष, इयु काउन्सिलका एन्टोनियो कोस्टाले सहमति नभएसम्म नेताहरूलाई ब्रसेल्समै केही दिन राख्ने सङ्केतसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार