पाँच महिनामा आयो साढे ३८ अर्ब एफडीआई प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले साढे ३८ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता गरेका छन् ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मंसिरमसान्तसम्म) मा विदेशी लगानी प्रतिबद्धता (एफडीआई) स्वरूप ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्ग गरी दुईवटा मार्गबाट आएका हुन् । पाँच महिनाको अवधिमा स्वचालित मार्गबाट २ अर्ब ५९ करोड ४ लाख रुपैयाँ र प्रत्यक्ष सहभागी मार्गबाट ३६ अर्ब ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । प्रत्यक्ष स्वचालित मार्गबाट २८६ वटा र प्रत्यक्ष सहभागी मार्गबाट १५२ वटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको हो ।

कुल लगानी प्रतिबद्धता भने ४३८ वटा उद्योग र ३३ हजार ८१४ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको हो । विभागका अनुसार पाँच महिनाको अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता सेवामूलक उद्योगमा आउँदा सबैभन्दा कम ऊर्जामूलक उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।

समीक्षा अवधिमा कृषिमूलकमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ र ऊर्जामा १८ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।पर्यटनमूलकमा १० अर्ब १२ करोड २० लाख रुपैयाँ, सेवामूलकमा ३ अर्ब ३८ करोड ६० लाख रुपैयाँ उत्पादनमूलकमा १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सोही अवधिमा सूचना प्रविधिमूलकमा ९९ करोड ८९ लाख रुपैयाँ र ऊर्जामा १८ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

१३ वटा कृषिमूूलक, १३५ वटा पर्यटनमूलक, २८ वटा सेवामूलक, २४ वटा उत्पादनमूूलक,  २३६ वटा सूचना प्रविधिमूलक उद्योग स्थापनाको उद्देश्यसहित उक्त लगानी प्रतिबद्धता आएको हो । विभागका निर्देशक एवम सूचना अधिकारी सुरेश दाहालका अनुसार उक्त उद्योगहरूमध्ये सबैभन्दा बढी लगानी प्रतिबद्धता साना उद्योगका लागि आएको हो । उनका अनुसार ४२३ वटा साना, ८ वटा मझौला र ७ वटा ठूला उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।

विदेशी लगानीकर्ताहरु लगानी भित्राउनको लागि स्वयं नेपाल आउने वा प्रतिनिधिमार्फत् लगानी भित्राउने गरेको विभागका अधिकारीहरु बताउँछन् । पाँच महिनाको अवधिमा सरकारले लगानीकर्ताहरूका लागि १ हजार ७८२ वटा भिसा उपलब्ध गराएको छ । उक्त अवधिमा १७८ जना डिपेन्डेन्ट र ३९५ जना प्रतिनिधिलाई व्यावसायिक भिसा उपलब्ध गराएको छ ।

निर्देशक दाहालका अनुसार वैदेशिक लगानी प्रतिवद्धता रकम बढ्दै गएको बताएका छन् । उनका अनुसार विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष सहभागी र स्वचालितमार्गको प्रयोग गर्ने गरिएको छ भने हालसम्म पनि स्वचालित मार्गको तुलनामा प्रत्यक्ष सहभागितामार्फत् आउने लगानी प्रतिबद्धता रकम बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार