काठमाडौं । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन जाँचबुझ गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ गरेका छन् । उनले हालसम्म प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको र अब राजनीतिक तहमा रहेकाहरूको बयान सकेर प्रतिवेदन लेखनमा लाग्ने जानकारी गराए ।
आगामी आइतबारदेखि राजनीतिकस्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको जानकारीसँगै अध्यक्ष कार्कीले आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्ने कि नगर्नेबारे पनि कुरा राखेका थिए ।
आयोगले भदौ २३ र २४ को घटनालाई लिएर प्रहरीका अधिकारीहरू, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव र प्रधानसेनापति अशोक सिग्देलसँग बयान लिइसकेको जानकारी गराउँर्दै उनले अब नेताहरुलाई बयानका लागि बोलाउने बताए ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग आयोगले बयानको लागि बोलाउने तयारी गरेको बताए ।
एमाले अध्यक्ष समेत रहेका ओलीले आयोगको निष्पक्षतामा प्रश्न गर्दै बयानमा नजाने बताएका छन् ।
कार्कीले आयोगको म्याद १ महिना थप्नका लागि सरकारसँग आग्रह गरेका छन् । सरकारले ३ महिनाको समय दिएर असोज पहिलो साता कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । यसअघि मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको थियो ।


