काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गर्दै ३३ औँ वार्षिक साधारणभा समेत बोलाएको हो ।
बैठकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको निर्णय गरेको हो । साथै बैठकले लाभांश पारित गर्नका लागि पुस २८ गते सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो २ बजे साधारणसभा बोलाएको छ ।
साधारणसभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालक समितिमा रिक्त हुने चार सञ्चालकहरूको पदपूर्तिका लागि निर्वाचन गर्ने र गत आवमा विभिन्न संस्था र व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग बापतको ९ लाख ८७ हजार २०० रुपैयाँ अनुमोदन गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १४ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

