काठमाडौं । लाभांश वितरण क्षमता भएका सूचीकृत सबै बैंकहरुले प्रतिफल घोषणा गरेका छन् । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १३ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । बाँकी ६ वटाले भने यसवर्ष सेयरधनीको हात खाली गर्दैछन् ।
नेपाल बैंक, कुमारी र प्रभु बैंकले लाभांश नदिने घोषणा गरेका छन् । यता, हिमालयन बैंक, एनआइसी एसियाको लाभांश क्षमता ऋणात्मक छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उक्त क्षमता निकै न्यून छ । त्यसैले यसले पनि लाभांश नदिने सम्भावना उच्च छ ।
बैंकहरुमा यसवर्ष सबैभन्दा धेरै एभरेष्टले सेयरधनीलाई लाभांश दिएको छ । यस बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिएको हो । कम्पनीले उक्त प्रस्ताव गएको कात्तिक १२ गतेको साधारण सभाबाट पारित गरिसकेको छ ।
त्यस्तै, स्टान्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ । उक्त लाभांश मंसिर २९ गतेको साधारण सभाले पारित गरेको छ । लाभांश प्रस्ताव गर्ने बैंकहरुमध्ये ८ वटाले साधारण सभा आयोजना गरेर प्रतिफल प्रस्ताव पारित गरिसकेका छन् ।
माछापुच्छ्रे, सानिमा, एभरेष्ट, ग्लोबल आइएमई, सिद्धार्थ, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड, कृषि विकास बैंकको साधारण सभा सम्मन्न भई सकेको छ । लक्ष्मी सनराइज, नेपाल एसबीआई, एनएमबि बैंकको भने सभा हुनु बाँकी छ । यी ३ कम्पनीको क्रमशः पुस १४, पुस १८ र पुस २४ गते साधारण सभा हुँदैछ । नबिल र प्राइम कमर्सियल बैंकको भने साधारण सभा मिति तय हुन बाँकी छ ।

बढ्यो औसत लाभांश वितरण दर
तथ्यांक अनुसार २०८१-८२ मा बैंकहरुको औसत लाभांश वितरण दर १०.८८ प्रतिशत पुगेको छ । २०८०-८१ मा बैंकहरुको उक्त दर ९.२२ प्रतिशत थियो । अघिल्लो वर्षको भन्दा यस वर्ष लाभांश दर बढेको छ ।
यद्दपि, पछिल्ला वर्षहरुमा बैंकहरुको लाभांश वितरण दर क्रमश घटेको देखिन्छ । २०७७-७८ मा वाणिज्य बैंकहरुको औसत लाभांश वितरण दर १६.३० प्रतिशत थियो । २०७८-७९ मा १३.७५ प्रतिशत, २०७९-८० मा ११.२८ प्रतिशत, २०८०-८१ मा ९.२२ र २०८१-८२ मा १०.८८ प्रतिशत लाभांश वितरण दर देखिएको छ । गत वर्षका लागि ६ वटा बैंकले लाभांश नदिने सम्भावना छ । भने २०८०-८१ मा ८ वटा बैंकले लाभांश दिएका थिएनन् । २०७९-८० मा ६ वटाले लाभांश दिएनन् ।
त्यसो त, विगत केही वर्षयता नेपालका बैंकहरुको लाभांश दर उल्लेखनीय रुपमा घट्दै गएको देखिन्छ । यसका पछाडि विभिन्न आर्थिक, नीतिगत तथा संरचनात्मक कारणहरु रहेका छन् ।
सबैभन्दा प्रमुख कारण बैंकहरुको नाफा घट्नु हो । पछिल्लो समय कर्जा विस्तार अपेक्षाकृत रुपमा सुस्त भएको छ । अर्थतन्त्र कमजोर हुँदा उद्योग–व्यवसाय फस्टाउन नसकेको अवस्था छ, जसका कारण कर्जाको माग कम भएको छ । कर्जा कम प्रवाह हुँदा बैंकहरुको ब्याज आम्दानी घट्न जान्छ, जसले समग्र नाफामा नकारात्मक असर पर्छ ।
त्यसैगरी, खराब कर्जा बढ्नु पनि अर्को महत्वपूर्ण कारण हो । ‘धेरै ऋणीहरुले समयमा ऋण तिर्न नसक्दा बैंकहरुले थप प्रोभिजनिङ गर्नुपर्छ । यसले नाफा घटाउने मात्र होइन, उपलब्ध नाफा सेयरधनीलाई लाभांशका रुपमा वितरण गर्न नसक्ने अवस्था सिर्जना गर्छ’, एक बैंकरले भने ।



