विराटनगर । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा आइतबार राति छापा मार्दा २० जना पक्राउ परेका छन् ।
विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेको हो । छापा मार्दा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । प्रहरीले छापा मार्दा क्यासिनोमा नेपाली भेटिएकाले पक्राउ गरिएको कटवालले बताए ।
पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको जानकारी एसपी कटवालले दिए ।


